रौतहट । रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा दुर्गन्ध र फोहोरले स्थानीयवासीलाई अत्यधिक समस्यामा पारिरहेको छ । पूर्व-पश्चिम राजमार्गको प्रमुख व्यापारिक क्षेत्रका रूपमा परिचित यस चोकमा, फोहोरको थुप्रो र दुर्गन्धले यहाँका नागरिकलाई एकछिन पनि बस्न गाह्रो बनाएको छ । यद्यपि, यस विषयमा सम्बन्धित सरोकारवाला निकायबाट कुनै पहल नहुँदा स्थानीयवासीहरू आक्रोशित छन् ।
स्थानीयवासी धिरेन्द्र चौधरीले भने, “राम्रो चन्द्रपुर नगरपालिकाको स्लोगन लेखिन्छ, तर व्यवहारमा यो दुर्गन्धपुर बन्दैछ । जनप्रतिनिधिहरू कहाँ हराएका छन् ? हामी जनता आफैं जिम्मेवार छैनौं भने यस्ता अवस्था आइरहन्छ ।”
आजित मिश्राले भने, “सरोकारवाला रिबन काट्न र शिलान्यास गर्ने काममा व्यस्त छन्, यहाँको फोहोरको विषयमा कसैले चासो राखेको छैन ।” त्यसैगरी, सबिन उप्रेतीले नेताहरू प्रति व्यङ्ग्य गर्दै भने, “नालाबाट बढी गनाउने नेताहरूलाई जिताउँदा यस्तै अवस्था आउने हो ।”
लोप्चन एलपीएनले भने, “रौतहट विकासको हिसाबले नम्बर १ हुनुपर्थ्यो, तर यहाँ १०० प्रतिशत भ्रष्टाचार छ । पत्रकारहरू पनि यस समस्या बारे चुप लागेका छन् ।” स्थानीयको यस्तो गुनासोले चन्द्रपुर नगरपालिका र अन्य सरोकारवाला निकायहरूको लापरवाही र भ्रष्टाचारलाई उजागर गरेको छ ।
नागरिकहरूले नगरपालिका र सरोकारवाला निकायहरूलाई तत्काल सरसफाइ अभियान गर्न आग्रह गरेका छन् । साथै, जनप्रतिनिधिहरूले जिम्मेवारीको महसुस गर्दै कार्य गर्नुपर्ने आवश्यक्ता पनि व्यक्त गरेका छन् ।




