रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० बडेर्वा टोलस्थित एक मेडिकल पसलबाट प्रहरीले आइतबार दिउँसो ठूलो मात्रामा नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले मेडिकल पसलमा तलासी गर्दा ४ हजार ५ सय २० थान ट्रामाडोल ट्याब्लेट फेला पारेको हो ।
उक्त मेडिकल पसलका संचालक सोही ठाउँमा बस्दै आएका मौलापुर नगरपालिका ४ निवासी २९ वर्षीय जितेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
नियन्त्रित लागूऔषध बिना नवीकरण तथा अनुमति बिक्री वितरण गरिएको पाइएपछि साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र साहमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।




