सिरहा । हुलाकी सडक अन्तर्गत सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा मंगलबार बिहान आएको बाढीले अस्थायी काठेपुल बगाएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।
सिरहा नगरपालिका ६ स्थित कमला नदीमा करिब ६ महिनाअघि निर्माण गरिएको अस्थायी काठ र बाँसको पुल बाढीले बगाएपछि स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् ।
उक्त अस्थायी पुल हुलाकी सडकमार्गलाई सिरहा र धनुषासँग जोड्ने मुख्य विकल्प थियो । मोटरसाइकल सञ्चालन र सर्वसाधारणको आवतजावत सहज बनाउने उद्देश्यले बनाइएको सो काठेपुल गएरातिको वर्षासँगै आएको बाढीले बगाएको हो ।
सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ भने पैदलयात्रीहरू अझै पनि नदी किनारको भर्याङ प्रयोग गरी जोखिमपूर्ण तरिकाले यात्रा गरिरहेका छन् । स्थानीयवासीहरूले नदीमा पानी घटेपछि वैकल्पिक समाधानको खोजी हुने बताएका छन् ।
कमला नदीमा १३ वर्षअघि स्थायी पुल निर्माण सुरु गरिएको भए पनि अझैसम्म सम्पन्न भएको छैन । सन् २०११ (२०६८ साल) को जेठ ३१ गते सुरु भएको ४६९.२ मिटर लामो पुलको निर्माण पटक-पटक म्याद थपिँदै अन्तिम चरणमा पुगेको थियो ।
तर २०७८ साल असार १७ गते सामान्य बाढीले पुलको संरचना भत्काएपछि पुन: पुनर्निर्माण थालिएको भए पनि हालसम्म दुबै किनारमा केवल पाया मात्रै ठड्याइएको छ । स्थायी पुल निर्माणमा ढिलाइ र अस्थायी संरचनाहरू बारम्बार बग्ने समस्याले गर्दा स्थानीयवासीहरूले आवागमनमा लगातार सास्ती भोगिरहेका छन् ।




