महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीस्थित सडकमा बुधबार राति ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना वृद्धको ज्यान गएको छ ।
भमरपुराबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ त ४८१६ नम्बरको ट्याक्टरले प्र २–०२–००१ प ७०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी गाउँपालिका ३ मडै निवासी ७० वर्षीय शिवशरण यादव गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उनलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले दुर्घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




