पर्सा । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा धादिङ जिल्लाको गल्छी गाउँपालिका २ घर भएका २४ वर्षीय रोजन भुजेललाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । भुजेललाई वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई दुई युवतीसहित नियन्त्रणमा लिएको थियो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले आफन्त नेपालका प्रतिनिधि र प्रहरीको उपस्थितिमा भुजेलसहित सबैलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा भुजेलले ती युवतीहरूलाई हेटौंडा र वीरगंजस्थित कपडा कारखानामा राम्रो तलब पाइने भन्दै भारत पुर्याउने योजना बनाएको खुलेको छ ।
तर वास्तविकतामा उनले उनीहरूलाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम मुद्दा दायर गरिएकाले जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिए ।




