सिरहा । सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरमा निजी विद्यालयका शिक्षकद्वारा विद्यार्थीमाथि गरिएको कुटपिटका कारण एक बालक गम्भीर घाइते भएका छन् ।
कक्षा ८ मा अध्ययनरत नरहा गाउँपालिका ३ खोरीयाका १३ वर्षीय अभिनाश यादवलाई विद्यालयका शिक्षक सन्तोष गुप्ताले निर्घात कुटपिट गरेका हुन् । पीडित अभिनाश यादव सुरेश यादवका छोरा हुन् ।
परिवारका अनुसार शिक्षक गुप्ताले कक्षामा अध्ययनरत अभिनाशलाई कुनै कारण नदेखाई अर्को कोठामा लगेर बाँसको लाठीले अत्यधिक कुटपिट गरेका थिए । कुटपिटका कारण अभिनाशको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घाइते विद्यार्थीको अहिले गोलबजारस्थित वर्धमान अस्पतालमा प्रारम्भिक उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जानकारी दिए ।
उनले भने, “विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक सन्तोष गुप्तालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । घटनामा संलग्न शिक्षकमाथि कानुन बमोजिम कारबाही हुनेछ ।”
पीडितका अभिभावकले घटनापछि शिक्षक गुप्तामाथि कडा कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।




