रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा अवस्थित तीन विद्यालयको शैक्षिक तह घटाउने र एक विद्यालयलाई अर्कोमा गाभ्ने निर्णय गरिएको छ । नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले विद्यार्थी संख्याको आधारमा विद्यालय पुन: संरचना गर्ने निर्णय लिएको हो ।
चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलका अनुसार चन्द्रपुर २ स्थित असनवाको निम्न माध्यमिक विद्यालय, बसन्तपुरको बसन्त आधारभूत विद्यालय र बडहरवाको जनता प्राथमिक विद्यालयलाई अब कक्षा १ देखि ३ सम्म मात्र पठन पाठनको अनुमति दिइने छ । यसअघि यी विद्यालयहरूमा कक्षा ५ देखि ७ सम्म अध्यापन हुँदै आएको थियो ।
त्यस्तै, नयाँटोल पडहरियास्थित जनप्रिय प्राथमिक विद्यालयलाई चन्द्रपुरकै श्रीकृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णय गरिएको मण्डलले जानकारी दिए । उनका अनुसार पछिल्ला वर्षहरूमा ती विद्यालयमा विद्यार्थीको उपस्थिति निरन्तर घटिरहेको थियो, जबकि शिक्षक संख्या आवश्यकता भन्दा बढी थियो ।
“जहाँ विद्यार्थी, त्यहीँ शिक्षक” भन्ने नीतिअनुसार विद्यालयको पुन: संरचना गरिएको मण्डलले बताए । उनले थपे, “शिक्षक दरबन्दी आवश्यकता भन्दा बढी रहेकाले व्यवस्थापन गर्न बाध्य भयौं । अब शिक्षक संख्या पनि विद्यार्थी अनुपातमा घटाइनेछ ।”
यता, नगरका अधिकांश विद्यालयले नयाँ शैक्षिक सत्र प्रारम्भ गरिसकेका छन् र पाठ्यपुस्तक वितरणसमेत सम्पन्न भइसकेको छ । यद्यपि, तह घटाउने र गाभ्ने निर्णय कार्यान्वयनसँगै प्रभावित विद्यालयमा संरचनागत परिवर्तन आउने निश्चित देखिन्छ ।
चन्द्रपुर नगरपालिकाले विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कदम चालिएको जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।




