सिरहा । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत पर्न थालेको छ । नेपाल–भारत सीमामा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । सिरहा नगरपालिका १७ स्थित माडर सीमाक्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् भने नेपाल र भारतका सुरक्षा निकायहरूले तालमेल गर्दै संयुक्त गस्ती थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र शान्ति–सुरक्षा सुनिश्चित गर्न संयुक्त गस्ती सुरु गरिएको हो ।
सुरक्षाफौजबीचको सहकार्यले सीमावर्ती क्षेत्रमा अनावश्यक आवतजावत, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । भारत–पाकिस्तानबीचको तनावले प्रभावित नागरिकहरू नेपालतर्फ प्रवेश गर्ने सम्भावना रहेको सुरक्षा निकायको निष्कर्ष छ ।
गृह मन्त्रालय स्रोतका अनुसार, युद्ध वा द्वन्द्वका बेला पीडितहरू शरणको खोजीमा अन्य मुलुकतर्फ जाने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थामा केही समूहहरू लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने सम्भावना उच्च रहेको जनाइएको छ ।
त्यसको रोकथामका लागि सरकारले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने, विशेष निगरानी राख्ने र सबै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा राख्ने तयारी गरेको छ । साथै, परिचय नभएका व्यक्तिहरूलाई नेपाल प्रवेशमा रोक लगाउने नीति अपनाउने निष्कर्ष पनि निकालिएको छ ।




