पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पर्साको वीरगंज महानगरपालिका १६ नगवा निवासी २० वर्षीया आलिया खातुनलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आलियाले विभिन्न प्रलोभन देखाई एक युवतीलाई भारतको बिहार, रक्सौलस्थित एक होटलमा यौन क्रियाकलापमा संलग्न गराएकी थिइन् । पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको टोलीले आलियालाई पक्राउ गरेको हो ।
घटनासँगै पीडित युवतीलाई उद्दार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । आलियाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीले मानव बेचबिखनमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी र कानुनी कारबाही जारी राख्ने जनाएको छ ।




