सप्तरी । सप्तरीको रूपनी गाउँपालिका ५ स्थित औद्योगिक क्षेत्रमा सञ्चालित विष्णु महायज्ञको पूजाआजा तथा हवनका लागि बनाइएको छाप्रोमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
महायज्ञस्थलमा हवनको तयारी भइरहेको बेला अचानक आगो सल्किएको थियो । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइए पनि त्यो बेलासम्म छाप्रोमा राखिएको पूजासामग्री, हवन सामग्री, पाल र अन्य सामाग्री पूर्ण रूपमा जलेर नष्ट भइसकेका थिए ।
प्रहरीका अनुसार आगलागीको कारण प्रारम्भिक रुपमा शंका गरिए पनि घटनाको यथार्थ कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ। घटना स्थलको निरीक्षण गर्दै प्रहरीले आवश्यक विवरण संकलन गरिरहेको छ ।
स्थानीय समाजसेवी तथा आयोजनाका संयोजकले विष्णु महायज्ञ धार्मिक आस्था र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै आगलागीको घटनाले समुदायलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यथाशीघ्र क्षतिको मूल्यांकन गरी पुनः आयोजनाको तयारी गर्ने बताएका छन् ।
यसअघि पनि धार्मिक स्थलहरूमा सावधानी नअपनाउँदा यस्ता घटनाहरू दोहोरिइरहेका छन् । प्रहरी र स्थानीय निकायले धार्मिक आयोजकहरूलाई सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेका छन् ।




