बारा । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि भएको कुटपिट घटनामा संलग्न एक जना सहयोगी पक्राउ परेका छन् । तर, सो घटनाका मुख्य अभियुक्त नगर प्रमुख किशोरी साह कलवार र वडा नम्बर ४ का सदस्य दीपेन्द्र गुप्ता भने अझै फरार रहेका छन् ।
पक्राउ परेका सहयोगी सनफी यादवलाई प्रहरीले काठमाडौंको सिंहदरबार परिसरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बारामा पठाएको हो । यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौं आएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार, वडा सदस्य गुप्ता र सहयोगी यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।
गैरकानुनी भुक्तानी अस्वीकार गर्दा कुटपिट
अधिकृत जयसवालका अनुसार, कानुनविपरीत रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयर कलवारले उनलाई आफ्नो निवासमा बोलाई अन्धाधुन्ध कुटपिट गरेका थिए । घटनामा संलग्न वडासदस्य गुप्ता हालसम्म फरार छन् ।
घटनाको पुष्टि गर्दै बाराका एसपी सन्तोष तामाङले मेयरविरुद्ध उजुरी परेको र अनुसन्धान प्रक्रिया अघि बढिरहेको बताएका छन् । तर, अहिलेसम्म कानुनी कारवाही प्रारम्भ नभएको प्रति आलोचना भइरहेको छ ।
कर्मचारी आन्दोलित, सेवाग्राही मर्कामा
प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कुटपिटको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले नगरपालिकाको सम्पूर्ण सेवा बन्द गराएका छन्, जसका कारण दैनिक सेवा लिन आएका सेवाग्राहीहरू रित्तो हात फर्कन बाध्य भएका छन् ।
गैरकानुनी रकम भुक्तानीको दबाब
प्रशासकीय अधिकृत जयसवालका अनुसार, गढीमाई मेलाको लागि कार्यपालिकाले १० लाख रुपैयाँ मात्र पारित गरेको थियो, तर मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानीको दबाब दिएका थिए । त्यसैगरी, बोर्ड निर्णयबिना नै वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोहमा १० लाख, र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न दबाब दिइएको थियो ।
उनका अनुसार, गत वैशाख १६ गते बिहान मेयरको निवासमा छलफलका लागि बोलाइएको थियो । छलफलको क्रममा ममता शर्माको अगुवाइमा थप ७१ लाख रुपैयाँको भुक्तानी दबाब दिइएको थियो । कानुनी प्रक्रिया नपुगी रकम भुक्तानी गर्न नमिल्ने स्पष्ट जवाफ दिएपछि मेयर र उनका समर्थकहरूले कुटपिट गरेका थिए ।
उपमेयरको आरोप : मेयरको मानसिकता कर्मचारीलाई नोकर ठान्ने
सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले मेयर किशोरी साह कलवारको कार्यशैली प्रति कडा आलोचना गरेकी छिन् । उनले भनिन्, “मेयर कलवार नगरपालिकालाई निजी सम्पत्तिको रूपमा चलाउन खोज्दैछन् । कर्मचारीमाथि घरायसी नोकरजस्तो व्यवहार गर्छन् ।”
उनका अनुसार, नगर कार्यपालिका बोर्डमा २१ सदस्यमध्ये २० जना मेयरविरुद्ध छन् । “जनप्रतिनिधिको सामूहिक निर्णयलाई बेवास्ता गर्दै एकलौटी निर्णयमार्फत नगरको रकम लुट्न खोजिएको छ,” उनले भनिन् ।
सिम्रौनगढमा देखिएको यो घटना स्थानीय तहमा भ्रष्टाचार, दण्डहीनता र प्रशासनिक हस्तक्षेपको प्रत्यक्ष उदाहरण बनेको छ । अनुसन्धान निष्पक्ष ढंगले अगाडि बढ्नुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याइनु पर्ने माग बलियो रूपमा उठिरहेको छ ।




