महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित सडकबाट ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
मंगलबार बिहान बर्दिबास इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ५ ग्राम ३७० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला, लिखु गाउँपालिका ५ का २८ वर्षीय दिपेश श्रेष्ठ र सोही गाउँपालिका ६ का २८ वर्षीय राजेन्द्र डंगोल रहेका छन् । उनीहरू सिराहाको लहानबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७३०३ नम्बरको हाइस गाडीमा सवार रहेका थिए ।
प्रहरीले सो गाडी चेकजाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ । हाल पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




