बारा । ललाइ फकाई विभिन्न प्रलोभन देखाएर बाराकी एक युवतीलाई भारतको राजधानी दिल्ली स्थित यौन व्यवसायमा पुर्याउन खोजेको आरोपमा एक युवक भारतको सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
रौतहटसँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गतराति नेपाल–भारत सीमाक्षेत्र पिल्लर नम्बर ३५५६/२ नजिक मोटरसाइकलमा यात्रा गर्दै गरेको अवस्थामा सुरज गुप्तालाई पक्राउ गरेको हो ।
उनी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका नागेश्वर साहका २५ वर्षीय छोरा हुन् । पक्राउ परेकी २० वर्षीया विवाहित युवती सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी रहेको एसएसबी कमाण्डर राजनन्दन कुमारले जानकारी दिए ।
सुरज गुप्ताले उक्त युवतीलाई आफ्नो सानीआमाले दिल्लीमा सञ्चालित यौन व्यवसायमा लगाउने उद्देश्यले बारम्बार ललाइफकाइ गर्दै दिल्ली पुर्याउन खोजिरहेको स्वीकार गरेको छ ।
पक्राउ परेका उनीहरू सवारी साधनमा सवार भएर घोडासहनबाट ट्रेन चढेर दिल्ली जाने योजना बनाउँदै थिए । उनीहरूको साथबाट मोटरसाइकल, युवतीको ब्यागबाट ५० हजार रुपैयाँ र युवाको पाकेटबाट १२ हजार रुपैयाँ बरामद भएको छ ।
युवतीका बुवाले लाखौं रुपैयाँ खर्च गरेर बिहे गरेको छोरीलाई यस्तो जोखिममा पारिएको भन्दै मानव तस्करी गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।
पक्राउ परेका युवक–युवतीलाई आवश्यक प्रमाणहरू सहित राति नै रौतहटको प्रहरी चौकी बंकुलमा एक गैरसरकारी संस्थाका प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको एसएसबीले जनाएको छ ।
एसएसबीले पछिल्लो समय रौतहट र बाराका विभिन्न स्थानबाट नेपाली युवतीलाई भारत पठाउने घटनाहरू बढेकाले सीमाक्षेत्रमा विशेष निगरानी आवश्यक भएको सुझाव दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टि गर्दै पक्राउ परेकाहरूको घर बारा जिल्लामा रहेको र थप अनुसन्धान तथा कारबाहीका लागि दुवैलाई बारा प्रहरीले जिम्मा लगाएको जानकारी दिएका छन् ।




