वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठन पाठनमा समस्या नहोस् भनी महानगर क्षेत्रका सबै सामुदायिक र निजी विद्यालयलाई जेठ १ गतेदेखि बिहानको सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।
गत केही सातादेखि वीरगन्ज र वरपरका क्षेत्रमा प्रचण्ड गर्मीका साथै दिउँसो तातो हावा चलिरहेको हुँदा दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ ।
महाशाखाका प्रमुख आनन्द लामिछानेले भने, “विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै बिहान छिटो कक्षा सञ्चालन गर्न निर्देशन दिइएको हो । जेठ १ गतेदेखि बिहान ६ बजेदेखि शिक्षण सिकाई कार्य जारी राख्न विद्यालयहरूलाई व्यवस्थापन गर्न भनिएको छ ।”
विद्यालयहरूले तोकिएको समय नघटाउने गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउनु पर्ने महानगरपालिकाले जनाएको छ ।





