रौतहट । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक नवविवाहित मुस्लिम महिलाको शंकास्पद मृत्यु भएको छ । घटनामा संलग्न भनिएका मुख्य आरोपी फरार रहेका छन् भने प्रहरी अनुसन्धानमा प्रभाव पार्न दलाल तथा बिचौलियाहरू सक्रिय बनेका छन् ।
कटहरिया ३ बड़ेरवा टोलका अरमान राय भाटसँग विवाह गरेकी २१ वर्षीया सानिया प्रविनको कटहरिया ५ स्थित घरमै गत आइतबार मृत अवस्थामा शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले घटनास्थलमा पुगेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो ।
सानियाका बाबु महमद मोलाजीम रौशनका अनुसार छोरीको दाइजोका कारण ससुराली पक्षबाट बारम्बार कुटपिट तथा मानसिक यातना दिइन्थ्यो । अन्तत: सानियाको हत्या गरेर आत्महत्या देखाउने प्रयास गरिएको उनले दाबी गरेका छन् ।
उनका अनुसार छोरीको बिहेमा सम्पूर्ण फर्निचर, वासिङ मेसिन, फ्रिज, सुनका गहना र अन्य सामग्री दिइएको थियो । पछिल्लो समय मोटरसाइकल, एक लाख भारु र घरमा एसी जडान गर्न माग गरिएको थियो ।
घटनाको अघिल्लो दिन सानियाले आफ्नो आमालाई भिडियो कल गरी “बुबा, भोलि आउनु है, सँगै घर जानेछु” भनेकी थिइन् । सम्धी अहमद रायले पनि छोरीलाई कुर्बानीअघि माईती पठाउने सहमति जनाएका थिए । तर, त्यसको दुई घण्टा पछि सानियाको मृत्युको खबर आयो ।
मृतकका बाबुका अनुसार अरमान राय भाटले छोरीको घाँटी थिचेर हत्या गरी शवलाई फ्यानमा झुन्ड्याएर आत्महत्या जस्तो देखाउने प्रयास गरेका हुन् । साथै, सानियाको सासु, ससुरा र अरू घरका सदस्य पनि घटनामा संलग्न रहेको आरोप छ ।
घटनापछि प्रमुख आरोपी अरमान फरार छन् । तर, बिचौलियाहरू इलाका प्रहरी कार्यालय गरुडामा दिनहुँ पुगेर अनुसन्धान प्रभावित गर्न विभिन्न चलखेलमा लागेको पीडित पक्षको आरोप छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाबारे बहुआयामिक अनुसन्धान भइरहेको बताएका छन् । मुख्य आरोपीलाई पक्राउ गर्न प्रहरी टोली खटाइएको भए पनि उनी हालसम्म सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।
साथै, मुद्दा दर्ता नगर्नका लागि विभिन्न पक्षबाट सिफारिस र दबाब आएको स्वीकार गर्दै उनले भने, “मानिसको ज्यान गएको मुद्दा हो, अनुसन्धान निष्पक्ष हुन्छ, दोषी जो भएपनि कारबाहीको दायरामा ल्याइन्छ ।”
मृतक सानियाका काका सोलाजीम रौशनले आफूहरू भारतबाट आएको र नेपाली कानुनबारे जानकारी नभए पनि प्रहरीले न्याय दिलाउने आश्वासन दिएको बताए । “हामीलाई केही मानिसले थाना म्यानेज भयो भनेका छन्, तर मलाई डिएसपी कार्की र यहाँको कानुनमा पूर्ण विश्वास छ,” उनले भने ।
यसैबीच, कटहरिया नगरपालिकाको पछिल्लो निर्वाचनमा पराजित केही दलका नेताहरूले प्रहरी, सरकारी वकिल र न्यायालयसम्म दलाली गरिरहेको स्थानीयहरूले आरोप लगाएका छन् । पीडित पक्षले सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन् ।




