जनकपुरधाम । जनकपुरधाममा भएको हत्या घटनामा संलग्न फरार आरोपीहरूको खोजी गरी कारबाही गर्न माग गर्दै बिहीबार लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले सडकमा विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधामको रामानन्द चोकमा सडक अवरुद्ध गर्दै उनीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण जनकपुरधाम–ढल्केवर सडकखण्डमा केही समय सवारी आवागमन अवरुद्ध भएको थियो । पछि प्रहरीको सम्झाएपछि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
गत चैत २ गते होलीको दिन जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीमा १७ वर्षीय आशु यादवको छुरा प्रहारबाट हत्या गरिएको थियो । सो घटनामा संलग्न केही व्यक्तिहरू अझै पनि पक्राउ परेका छैनन् भन्ने आरोप लगाउँदै प्रदर्शन गरिएको हो ।
प्रहरीका अनुसार हालसम्म उक्त घटनामा दुई जना पक्राउ परिसकेका छन् भने बाँकी पाँच जना आरोपी फरार रहेका छन् । फरारको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ ।




