महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित गौरीडाँडाबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन् । प्रहरीले बिहीबार दिउँसो ७ ग्राम ७३० मिलिग्राम लागूऔषधसहित सिरहा नगरपालिका ७ महेश्वरथान टोल निवासी २० वर्षीय दुर्गेश यादवलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बर्दिवास र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५७ नम्बरको यात्रुवाहक बसबाट उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा दुर्गेश यादवलाई सो लागूऔषध सिन्धुलीको कमलामाई नगरपालिका ८ मा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही बलरा नगरपालिका ४ घर भएका २७ वर्षीय धर्मेन्द्र साहले पठाएको खुलेपछि साहलाई पनि बर्दिवास नगरपालिका ३ स्थित कालापानीबाट पक्राउ गरिएको छ ।
दुबै जनालाई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।




