रौतहट । रौतहटको कटहरिया नगरपालिकामा नवविवाहिता मुस्लिम महिलाको रहस्यमय मृत्युको घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ ।
कटहरिया ३ बड़ेरवा टोल घर भई हाल कटहरिया ५ बजार क्षेत्रमा बसोबास गर्दै आएका अहमद राय भाटका छोरा अरमान राय भाटमाथि श्रीमती सानिया प्रविनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको डिएसपी राजन कार्कीले जानकारी दिए ।
माग पूरा नगर्दा मानसिक यातना, अनुसन्धानबाट पुष्टि
२१ वर्षीया सानिया प्रविनको ६ महिनाअघि मात्र अरमान राय भाटसँग विवाह भएको थियो । प्रारम्भिक अनुसन्धानमा श्रीमान अरमानले दाइजोमा मोटरसाइकल, एसी, नगदसहित अन्य सामग्रीको माग राख्दै सानियामाथि निरन्तर मानसिक यातना दिएको पुष्टि भएको डिएसपी कार्कीले बताए ।
उनका अनुसार घटनापछि फरार रहेका आरोपी अरमानको खोजी कार्य जारी छ । साथै, घटनामा अन्य व्यक्तिहरूको संलग्नता देखिए अनुसन्धानको आधारमा थप कारबाही अगाडि बढाइनेछ ।
घटनालाई दबाउन प्रयास, प्रहरीको सक्रियता
यस घटनालाई दबाउन र आरोपीलाई जोगाउन केही बिचौलियाहरूले प्रहरी तथा पीडित परिवारलाई दबाब दिने प्रयास गरेका थिए । तर एसपी नेत्रमणि गिरीको निर्देशनमा र डिएसपी कार्कीको सक्रियतामा आरोपितमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो ।
माईती पक्षको गम्भीर आरोप
मृतक सानियाका पिता महमद मोलाजीम रौशनका अनुसार उनकी छोरीमाथि दाइजोका लागि निरन्तर कुटपिट र यातना दिइन्थ्यो । विवाहको बेला फर्निचर, फ्रिज, कुलर, सुनका गहना, नगद लगायत सामग्री दिएका थिए ।
पछिल्लो समय भने मोटरसाइकल, थप नगद तथा एसी जडानको माग गरिएको र ती माग पूरा गर्न नसक्दा सम्धिनीको मिलेमतोमा छोरीको हत्या गरिएको आरोप उनले लगाए ।
आत्महत्या या हत्या ?
घटना गत आइतवार दिउँसोको हो । आफ्नै घरको कोठामा साडीको पासो लगाएर सानियाको शव सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको थियो । सासु-ससुराले आत्महत्या भनेका छन् भने माईती पक्षले हत्या गरी आत्महत्या देखाउन खोजिएको दाबी गर्दै आएका छन् ।
घटनाको गम्भीरताका कारण नेपाल प्रहरीका संगठन प्रमुख (आईजिपी) दीपक थापाले समेत विशेष चासो व्यक्त गरेका छन् । मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरी अनुसन्धान जारी छ ।




