वीरगंज । भारतको उडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (Kalinga Institute of Industrial Technology – KIIT) मा अध्ययनरत एक नेपाली छात्राको शंकास्पद मृत्युपछि त्यस प्रकरणलाई दबाउन वीरगंजमा सक्रिय दलालजस्ता कलेज प्रतिनिधिहरू लागिपरेको मृतकका परिवारजनले आरोप लगाएका छन् ।
सर्लाही कविलासी नगरपालिका ८ की १९ वर्षीया पियुसा साहको गत वैशाख १८ गते राति कलेजको होस्टेलमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनी एक वर्षअघि KIIT मा ब्याचलर अफ कम्प्युटर साइन्स विषयमा भर्ना भएकी थिइन् । पियुसा हाल परिवारसँग वीरगंजको भिस्वामा बस्दै आएकी थिइन् ।
उनका बुबा, स्वास्थ्यकर्मी श्यामप्रसाद कलवारले छोरीको मृत्यु शंकास्पद रहेको र घटनालाई दबाउन नेपालमा रहेका दलाल तथा किटका प्रतिनिधिहरू लागिपरेको दाबी गरेका छन् । उनका अनुसार अध्ययनमा मेधावी रहेकी छोरीले आत्महत्या गर्ने कुनै कारण देखिएको छैन । “छोरीको अचानक मृत्युपछि पूरा परिवार शोकमा छ, तर घटनालाई ओझेलमा पार्न नेपालका सम्बन्धित निकाय मौन बसेका छन्,” कलवारले भने ।
प्रहरीले अनुसन्धान गरिरहेको दाबी
उडिसा प्रहरीले घटनाको न्यायिक छानबिन गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली गठन गरी अनुसन्धान गरिरहेको जनाएको छ । घटनासँग सम्बन्धित एक जना विद्यार्थीलाई उत्तराखण्डको देहरादूनबाट पक्राउ गरिएको जानकारी प्राप्त भएको छ ।
नेपालमै सक्रियरुपमा ‘छानबिन रोक्ने’ प्रयास
घटनापछि किट कलेजप्रति नेपाली अभिभावक र विद्यार्थीहरूमा नकारात्मक भावना गहिरिँदै गएको छ । तर वीरगंज लगायतका क्षेत्रहरूमा किटका प्रतिनिधिहरू कलेजको नाममा दाग नलागोस् भनेर सक्रिय देखिएका छन् ।
स्रोतका अनुसार ती प्रतिनिधिहरूले स्थानीय कलेजहरूमार्फत छात्रा भर्नाका लागि लाखौं रुपैयाँ खर्च गरिरहेको बताइएको छ। उनीहरूले विरोधका गतिविधि रोक्न विभिन्न संगठनहरूसँग पनि ‘सम्झौता’ गरिरहेको आरोप छ ।
पहिल्यै पनि घटेका छन् यस्ता घटना
केही महिनाअघि पनि नेपालकी अर्की छात्रा पृकृति लम्सालले होस्टेलको कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । त्यसबेला नेपाली विद्यार्थीहरूले कलेज प्रशासनविरुद्ध आन्दोलन गरेका थिए । त्यसको प्रतिक्रिया स्वरूप सम्पूर्ण नेपाली विद्यार्थीलाई कलेजबाट निष्कासन गरिएको थियो । त्यस घटनाले नेपाली अभिभावकहरूमा किट कलेज प्रति गम्भीर अविश्वास पैदा गराएको थियो ।
‘६/७ विद्यार्थीको मृत्यु’
पियुसाका बुबा श्यामप्रसाद कलवारका अनुसार पछिल्ला केही वर्षमा KIIT मा ६/७ जना नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ । तीमध्ये छात्राको संख्या बढी रहेको पनि उनले बताए । “मलाई थाहा नहुँदासम्म छोरीले भर्ना नै गरिसकेकी रहिछिन्,” उनले दुखेसो पोखे ।
किट कलेज नेपालका विभिन्न सहरहरूमा आफ्ना एजेन्ट राखी विद्यार्थी भर्ना गराउँदै आएको छ । भारतकै महँगो र चर्चित निजी कलेजमध्ये पर्नेको रूपमा किट कलेजलाई चिनिन्छ । तर पछिल्ला घटनाक्रमले यो कलेजप्रति उठेका प्रश्नहरू गम्भीर छन् ।
पियुसाको शव अन्तत: परिवारजनले उडिसामै अन्त्येष्टि गरेका छन् । तर मृत्युको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही नभएसम्म संघर्ष जारी राख्ने परिवारजनले चेतावनी दिएका छन् ।




