सर्लाही । सर्लाही जिल्लाका विभिन्न स्थानमा बुधबार बेलुका आएको तीव्र हावाहुरीका कारण सवारी साधनमा क्षति हुनुका साथै पाँच जना स्थानीयवासी घाइते भएका छन् । कयौं स्थानमा रुख ढलेर सडक अबरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको टोली खटिएर सडक सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिवन नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालयको परिसरमा पार्किङ गरी राखिएका दुई वटा मोटरसाइकलमाथि रुख ढल्दा ती बाइकमा क्षति पुगेको छ । ट्यांकी र भाइजरजस्ता भागमा विशेष क्षति भएको जनाइएको छ ।
त्यस्तै, पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत इश्वरपुर नगरपालिका १२ मा बाँकेबाट लालबन्दी जाँदै गरेको म प्र ०४-००१ च ०२७७ नम्बरको पिकअप गाडी अचानक रुख ढल्दा ब्रेक लगाएर जोगाउने क्रममा सडक छेउमा पल्टिएको थियो ।
उक्त गाडीका चालक पर्सा गाउँपालिका ४ का ३५ वर्षीय राजनारायण महतो सामान्य घाइते भएको र उनलाई फुलजोर प्रहरी चौकीको टोलीले उद्धार गरी पिकअपसहित फुलजोरमा राखिएको प्रहरीले जनाएको छ ।
हरिपुर नगरपालिका २ को सानो जगतपुरस्थित भित्री सडकमा मलंगवाबाट घुरकौलीतर्फ जाँदै गरेका दुई मोटरसाइकल सवारहरू १८ वर्षीय बलिराम महतो र ५२ वर्षीय गंगाराम महतो रुखको हाँगाले ठक्कर दिँदा घाइते भएका थिए । दुबै जनाको हरिवनस्थित नमुना अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
वागमती नगरपालिका २ का ३८ वर्षीय नवराज राय क्षेत्री आफ्नै मकैबारीमा काम गरिरहँदा बकाइनाको रुखको हाँगा खस्दा ढाडमा चोट लागेको थियो । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ ।
यस्तै, हरिवन नगरपालिका ५ घुरकौलीका शेख अबासकी ७५ वर्षीया श्रीमती दलेमुन खातुन हावाहुरीले उडाएको जस्तापाताको चापमा परेर सामान्य घाइते भएकी छन् ।
बरहथवा नगरपालिका ९ स्थित बरहथवा–मधुबनी सडक खण्डमा पनि रुख ढल्दा सडक अवरुद्ध भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन रक्षकको टोलीले रुख हटाएर सडक सञ्चालनमा ल्याएको हो ।
गोडैता नगरपालिका १२ मधुवनी गाउँमा मुन्ना सिंहको जग्गामा रामनगर गापा ७ का उमेश साहले सञ्चालन गर्दै आएका होटल भत्किँदा करिब ६० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । तर मानविय क्षति भने भएको छैन ।
यस्तै, हरिपुर्वा नगरपालिका ६ का ५० वर्षीया सुमी देवी साहलाई हावाहुरीले उचालेर दुई तल्ले घरबाट खसाउँदा घाइते बनाएको छ । उनको हात, मुख र आँखामा चोट लागेको र जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।
हाल उनको अवस्था मध्यम रहेको जनाइएको छ । डीएसपी राईका अनुसार हावाहुरीबाट भएको क्षतिको विवरण संकलनको काम जारी रहेको छ ।




