सिराहा । सिराहाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूसँग लाखौं नगद, मोबाइल सेट र डिजिटल तराजु समेत बरामद गरिएको छ ।
लहान नगरपालिका १२ स्थित भोटिया टोलबाट शुक्रबार साँझ प्रहरीले २१ ग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध, नगद ५१ हजार ४५० रुपैयाँ र २ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान २२ लबटोलीका ३२ वर्षीय दिनेश कुमार यादव र उनकी २६ वर्षीया बहिनी किरण कुमारी यादव छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको टोलीले को ५ प ६९२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा प्रहरीले दिनेश यादवको घर तलासी गर्दा थप १८० ग्राम लागूऔषध, नगद ५४ लाख १४ हजार २८५ नेपाली रुपैयाँ, ३५ हजार ७८० भारतीय रुपैयाँ, ४ थान मोबाइल र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ ।
यसैबीच, शनिबार दिउँसो सिराहाकै बरियारपट्टी गाउँपालिका ३ चमार टोलबाट खैरो हेरोइन जस्तो देखिने करिब ७१० मिलिग्राम लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा औरही गाउँपालिका ३ का २० वर्षीय कृष्ण कुमार यादव र तुलसीपुर बस्ने १९ वर्षीय निरज राय छन् । उनीहरूलाई भारतको लदनियाबाट बरियारपट्टीतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्र २–०१–००२ प ३०६८ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले पक्राउ गरेको हो । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।




