महोत्तरी । महोत्तरीको औरही नगरपालिका ४ कठुधारबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साम्सी गाउँपालिका ७ निवासी २५ वर्षीय रवि साह र भारत बिहारको सितामढी, कनवा निवासी २० वर्षीय रितेश साह रहेका छन् ।
उनीहरू आइतबार दिउँसो पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको टोलीले सम्सीबाट गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प ९६८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त रकमसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
रकमको स्रोत स्पष्ट नबताएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका दुवै जनासँग रकम कहाँबाट आएको र के प्रयोजनका लागि ल्याइएको भन्ने बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।




