सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगंजमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । दुर्घटनामा लालबन्दी नगरपालिका १७ रानिगंजकी २२ वर्षीया सोना पन्तको मोडेल अस्पताल, लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनी गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएकी थिइन्, तर उपचारकै क्रममा ज्यान गुमाएकी हुन् । यस्तै घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो रानिगंजस्थित घिमिरे चोकमा विराटनगरबाट मलंगवातर्फ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको ना १ ज २६४५ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो ।
ठक्करले म्याजिकमा रहेका यात्रुहरू घाइते भएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपि बस चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको छ ।




