सर्लाही । सर्लाही प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा गाउँपालिका ६ निवासी २१ वर्षीय मुकेशकुमार साह र हरिपूर्वा नगरपालिका ४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित कुम्हार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार, पर्सा गाउँपालिका ६ स्थित हुलाकी सडकखण्डमा प्रहरी चौकी पर्साको टोलीले भारत नम्बर प्लेटको बीआर ३० एपी ७५३९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक मुकेशकुमार साहको साथबाट २४ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट फेला परेको हो । मोटरसाइकलको पछाडि बसेका सरोज पण्डित कुम्हार र चालक साह दुवैलाई नक्कली नोट सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




