महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ८ स्थित क्वार्टर चोकमा मंगलबार बेलुकी मोटरसाइकल र पिकअप सवारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा प्र २–०४–००१ प १४९७ नम्बरको मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका ५ का ३८ वर्षीय अरूण चौधरीको ज्यान गएको हो ।
गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि बर्दिबासस्थित शुभ स्वास्तिक अस्पताल लगिएको थियो जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् ।
उनीहरूको शुभ स्वास्तिक अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा प्र २–०३–०१ च २५१७ नम्बरको पिकअप गाडीका चालक हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




