वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका ३२ टेढामा चट्याङ लागेर एक किशोरको ज्यान गएको छ । बुधबार बिहान परेको चट्याङले घरमै सुतिरहेका अन्दाजी १६ वर्षीय शिव शंकर माझीको ज्यान लिएको हो ।
प्रहरीका अनुसार बिहानको समयमा मौसम खराब भई चट्याङ परेको थियो । सोही क्रममा माझी घरभित्रै सुतिरहेका अवस्थामा चट्याङको चपेटामा परेका थिए ।
घटना लगत्तै उनलाई उद्दार गरी नजिकको स्वास्थ्य संस्थामा लैजाने प्रयास गरिएपनि उपचारको क्रममा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले घटनाको पुष्टि गर्दै मृतक माझीको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको जानकारी दिए ।
स्थानीय तह र प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान र विवरण संकलन गरिरहेको छ । यतिबेला माझी परिवारमा शोकको वातावरण छ भने स्थानीयवासी चट्याङजस्तो प्राकृतिक प्रकोप प्रति चिन्तित देखिएका छन् ।




