रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुरस्थित सडकमा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
गरूडाबाट चपुरतर्फ जाँदै गरेको ना ५६ प २९८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलमा सवार वृन्दावन नगरपालिका ६ हर्षाहा निवासी ३८ वर्षीया सबिता देवी गम्भीर घाइते भएकी थिइन् ।
दुर्घटनापछि उनलाई तत्काल चपुरस्थित सिभिल अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगंजस्थित न्यूरो अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ । स्थानीयहरूले सवारी साधनको गति नियन्त्रण र सडक सुरक्षाको प्रवर्द्धनका लागि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन् ।




