धनुषा । लक्ष्मीनियाँ गाउँपालिका ५ मा एक महिला हत्या प्रकरणमा उनका श्रीमान पक्राउ परेका छन् । घटनाले गाउँमा सनसनी फैलिएको छ भने हत्या भएपछि हराइरहेकी दसमहिने बालिकाको अवस्था अझै अज्ञात छ ।
प्रहरीका अनुसार अञ्जली यादव नामकी २० वर्षीया महिलाको गत फागुन १७ गते हत्या भएको आशंकामा उनका श्रीमान् हरिराम यादवलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा अञ्जलीको हत्या गरी उनको शव घरको पूजाकोठामा गाडिएको खुलेको छ ।
हत्या पछि हरिराम आफ्नी १० महिनाकी छोरीसहित फरार भएका थिए । अहिले उनी पक्राउ परिसकेको भएपनि छोरीको अवस्था बारे कुनै जानकारी नभएको प्रहरी स्रोतको भनाइ छ ।
श्रीमान–श्रीमतीबीच लामो समयदेखि पारिवारिक विवाद चलिरहेको र दाम्पत्य सम्बन्ध राम्रो नरहेको अनुसन्धानमा देखिएको धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले जनाएका छन् ।
पक्राउ परेका यादवलाई जिल्ला अदालत धनुषामा उपस्थित गराई म्याद थप प्रक्रिया अघि बढाइएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।




