सिरहा । एकै आर्थिक वर्षमा सिरहाका १७ स्थानीय तहहरूमा ७८ करोड रुपैयाँभन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८२ सालको वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/८१ मा जिल्लाभरका नगरपालिका र गाउँपालिकाहरूको लेखा परीक्षण गर्दा ठूलो मात्रामा खर्च र लेखाजोखा नमिलेको देखिएको हो ।
जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिकाको संयुक्त रूपमा २ हजार १ सय ९५ करोड रुपैयाँभन्दा बढी रकम परीक्षण गर्दा ७८ करोड ४ लाख रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनले उल्लेख गरेको छ ।
सबैभन्दा धेरै बेरुजु सिरहा नगरपालिकामा देखिएको छ, जहाँ २ सय ६३ करोडको लेखा परीक्षणमा १३ करोड २२ लाख रुपैयाँ अनियमित देखिएको हो । यसपछि विष्णुपुर गाउँपालिका र कर्जन्हा नगरपालिका दोस्रो र तेस्रो स्थानमा छन्, जसमा क्रमश: १२ करोड १२ लाख र ९ करोड ३९ लाख बेरुजु रकम फेला परेको छ ।
अन्य पालिकाहरूमा पनि बेरुजु रकम उल्लेख्य देखिएको छ: नरहा गाउँपालिकामा ७ करोड ९४ लाख, सुखीपुर नगरपालिकामा ५ करोड ७५ लाख, सखुवानन्कारकट्टी गाउँपालिकामा ४ करोड ६४ लाख, औरही गाउँपालिकामा ४ करोड २५ लाख, गोलबजार, मिर्चैया, भगवानपुर, धनगढीमाई र लहान नगरपालिकाहरूमा दुईदेखि तीन करोडसम्म बेरुजु रकम देखिएको छ ।
त्यस्तै नवराजपुर, लक्ष्मीपुर पतारी, अर्नमा, बरियारपट्टी गाउँपालिकामा पनि करोडौँ बेरुजु रकम पाइएको छ । जिल्लामा सबैभन्दा कम बेरुजु कल्याणपुर नगरपालिकामा देखिएको हो, जहाँ ९९ लाख रुपैयाँको बेरुजु मात्रै देखिएको छ ।
महालेखा प्रतिवेदनले यी बेरुजुहरूको कारण बारे स्पष्ट नबताए पनि, योजना कार्यान्वयन, भुक्तानी प्रक्रिया र पारदर्शितामा कमीले गर्दा यस्तो अवस्था सिर्जना भएको संकेत गर्छ । नियमित लेखा परीक्षण र जवाफदेही व्यवस्था नहुँदासम्म यस्ता वित्तीय अनियमितता बारम्बार दोहोरिने विज्ञहरू बताउँछन् ।




