वीरगञ्ज । पर्सा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन आउने सेवाग्राहीहरू दैनिकजसो अत्यधिक सास्ती खेपिरहेका छन् । विशेष गरी नयाँ नागरिकता तथा नागरिकताको प्रतिलिपि फाँटमा देखिएको प्रशासनिक लापरवाही र प्रक्रिया झन्झटिल बन्दै जाँदा सेवाग्राही महीनौंसम्म कार्यालय धाउन बाध्य छन् ।
सेवाग्राहीहरूका अनुसार नयाँ नागरिकता लिन जाँदा अहिले अधिकांशलाई सर्जमिन मुचुल्का अनिवार्य गरिएको छ । यस प्रक्रियाले गर्दा उनीहरूलाई प्रहरी कार्यालय, वडा कार्यालय हुँदै विभिन्न निकाय धाउँदै दिन बिताउनुपर्ने बाध्यता छ । यसै कारण धेरै नागरिकहरू निराश भएर फर्किन थालेका छन् ।
वीरगञ्ज महानगरपालिका २२ का वडा अध्यक्ष द्वारिका महतो भन्छन्, “गाउँका धेरै मानिसहरूलाई कानुन थाहा छैन । हामीले नागरिकताको लागि जन्मदर्ता सिफारिश गर्दा प्रशासनले अनेक बहाना बनाउँदै सर्जमिन मुचुल्का पठाउँछ ।” उनका अनुसार, पुरानो जन्मदर्ता कागज हराएको वा फेला नपरेको जस्ता कारण देखाउँदै नागरिकता दिन आलटाल गरिन्छ ।
त्यसैगरी, नागरिकताको प्रतिलिपि लिन जाँदा पनि सेवाग्राहीहरू उत्तिकै हैरान छन् । पुरानो फाराम खोज्न लगाउने, स्टोरमा रहेको बिग्रिएको कागज देखाउँदै अतिरिक्त प्रमाणपत्र माग गर्ने जस्ता व्यवहारले प्रतिलिपि लिन समेत महीनौं लाग्ने अवस्था छ ।
सर्जमिन प्रक्रिया झन्झटिलो मात्र नभई खर्चिलो पनि छ । स्थानीयवासीहरूका अनुसार, प्रहरी, जनप्रतिनिधि र अन्य साक्षीहरूलाई ‘नास्ता-पानी’ खर्च दिनुपर्ने दबाब समेत सिर्जना भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा सर्जमिन मुचुल्का लेख्न जनशक्तिको अभाव छ । प्रहरीहरू अन्य जिम्मेवारीमा व्यस्त हुँदा सेवाग्राहीले लाइनमा लामो समय कुर्नुपर्ने अवस्था छ । “हामीसँग जनशक्ति कम छ, तर नागरिकताको सर्जमिनका पत्र दिनहुँ आउने गरेका छन्,” एक प्रहरी निरीक्षकले बताए ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रतिक्रिया दिँदै भने, “नयाँ अधिकृतहरू आएपछि केही प्रक्रिया अप्ठ्यारो भइरहेको हो । तर समस्या चाँडै समाधान गर्न हामी प्रतिबद्ध छौं ।” सेवाग्राहीहरूले सरकारी सेवामा पारदर्शिता, सहजता र समयमै सेवा दिन माग गरेका छन् ।




