सर्लाही । सर्लाहीको बागमती नगरपालिका १ पानी ट्याङ्की चोकमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
ना ७ ख ६३९१ नम्बरको टिपरले बा ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मलंगवा नगरपालिका १० निवासी २१ वर्षीय मोहमद कैफ मिकरानी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




