सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका ५ बाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले लालबन्दीबाट पर्सातर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ५३९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १६ परवानीपुर निवासी १९ वर्षीय दिपेश वाईबा रहेका छन् भने अर्का व्यक्तिको परिचय खुलाइएको छैन । प्रहरी चौकी पर्सा र अस्थायी प्रहरी पोष्ट नोकेल्वा पिपराबाट खटिएको टोलीले मोटरसाइकलमा लुकाएर ल्याइएको करिब १० किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गाँजा ओसार पसारको शङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




