सिराहा । सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्ति प्रक्रियामा गम्भीर आर्थिक अनियमितता भएको प्रमाणसहित खुलासा भएको छ । गाउँपालिकाका अध्यक्ष, शिक्षा इकाइका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलोमतोमा पाँच लाखदेखि आठ लाख रुपैयाँसम्म असुली गरेर नियुक्ति प्रक्रिया अघि बढाइएको प्रमाणहरू सार्वजनिक भएका छन् ।
नियुक्तिको नाममा लाखौं असुली
नवराजपुर गाउँपालिका ४ स्थित श्री जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयले २०८१ साल असार १२ गते विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार असार १६ गते ९ जनाका लागि र चैत ५ गते थप ३ जनाका लागि गरी कुल १२ जना शिक्षक पदपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो ।
उक्त रिक्त पदका लागि १५१ जनाले दरखास्त दिएका थिए । तर नियुक्ति प्रक्रियामा गाउँपालिकाले राजनीतिक दबाब र आर्थिक चलखेलमा परी शिक्षा विकास तथा समन्वय इकाईसँग मिलेर शिक्षा समितिबाट अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्न सिफारिस गरेको देखिन्छ ।
कानुन मिचेर समिति गठन
कानुनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयले कम्तीमा तीनपटक अभिभावक भेला बोलाउनु पर्ने प्रावधान छ । तर विद्यालयले अभिभावक भेला नै नगरी शिक्षा समितिको निर्णयका आधारमा गाउँपालिका अध्यक्ष शिव उदगार यादवले आफ्ना निकटवर्ती रामचन्द्र यादव, रामकुमार यादव, तारादेवी यादव र अमिरका यादवलाई अस्थायी समिति सदस्य बनाएका थिए ।
अडियो रेकर्डमार्फत आर्थिक लेनदेनको पुष्टि
शिक्षक नियुक्तिमा आर्थिक लेनदेन भएको प्रमाणस्वरूपका अडियो रेकर्डहरू मेयरसाप डटकमले सार्वजनिक गरेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत घुरन यादव र विद्यालय समितिका सदस्य जीवछ यादवबीचको फोन संवादमा नियुक्तिको सन्दर्भमा उठाइएको पैसा बारे कुराकानी भएको पाइन्छ ।
संवादमा घुरन यादवले जीवछ यादवलाई भनेका छन्- “जस्को पैसा लिएको छु, उसको नाम नै निस्केन । उठाएको एक पैसा पनि मुखिया ज्यु कहाँ गएको छैन ।” यहाँ “मुखिया” भन्ने शब्द गाउँपालिका अध्यक्षलाई संकेत गर्दै प्रयोग गरिएको हो । त्यसै संवादमा उनले प्रभात ठाकुरको पाँच लाख मात्र अध्यक्ष कहाँ गएको भन्दै बाँकी रकम प्रधानाध्यापक मुरारी शर्माले लिएको बताएका छन् ।
‘भोज खर्च’को नाममा असुली
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले शिक्षक नियुक्तिको सट्टामा ‘भोज खर्च’को नाममा रकम मागेको अर्को प्रमाण भेटिएको छ । एक व्यक्तिसँग उनले ८ लाख रुपैयाँको डिमाण्ड गरेका थिए । उक्त व्यक्तिले सो रकम अस्वीकार गरेपछि अध्यक्ष यादवले भनेका थिए- “भोजको लागि १ लाख ५० हजार दिनुस्, म प्रयास गर्छु ।” त्यसपछि ती व्यक्तिले चेक दिएका थिए, चेकमार्फत रकम पनि निकालियो तर जागिर भने नलगाइदिएको पीडितको गुनासो छ ।
प्रश्नपत्र आउटको प्रमाण पनि
त्यति मात्र होइन, परीक्षाको एक दिन अघिनै राति १ बजेर १३ मिनेटमा बरीयरपट्टी गाउँपालिका १ स्थित आधारभूत विद्यालयका प्रधानाध्यापक राम शुफल यादवको मोबाइल नम्बर ९८५११६२१७० बाट परीक्षा प्रश्नपत्रसहित उत्तरसमेत पठाइएको प्रमाण फेला परेको छ ।
आरोपको खण्डन
यस विषयमा श्री जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक मुरारी शर्मासँग जब प्रश्नपत्र बाहिरिएको र नियुक्तिमा रकम असुलिएको प्रमाण बारे सोधिएको थियो, उनले भने- “यो सबै अफवाह हो । कसले र कसरी प्रश्नपत्र बाहिरिएको हो, मलाई थाहा छैन । यो एडिटिङ गरिएको अडियो पनि हुन सक्छ ।”
गाउँपालिका अध्यक्ष शिव उदगार यादवले पनि आरोपको खण्डन गर्दै भने- “यो सबै निराधार आरोप हो । विपक्षीहरूले बदनाम गराउन यस्तो भ्रम फैलाएका हुन् । कसैले पैसा लिएको प्रमाण फेला परे कडा कारबाही गर्छु ।”
संलग्नहरूले प्रतिक्रिया दिन मानेनन्
अन्य संलग्नहरूसँग पटक पटक सम्पर्क गर्दा कसैले पनि प्रतिक्रिया दिन चाहेनन् । तर स्थानीय जानकारहरू भने शिक्षक नियुक्तिजस्तो संवेदनशील विषयमा आर्थिक लेनदेन र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्रलाई पतनको दिशामा धकेलेको टिप्पणी गर्छन् । उनीहरूको भनाइमा, विद्यालय सिकाइको केन्द्र बन्नुपर्नेमा जनप्रतिनिधि र कर्मचारीहरूले कमाइको माध्यम बनाएका छन् ।




