काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा ललितपुर महानगरपालिका २७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका ३ निवासी ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ५ बस्ने बारा कोल्हवी नगरपालिका २ निवासी ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।
शन्त कुमार चेम्जोङले लाटभिया पठाइदिने भन्दै एक पीडितसँग १२ लाख रुपैयाँ लिएका थिए भने विष्णुराज उप्रेतीले युएई पठाइदिने प्रलोभनमा अर्का एक व्यक्तिबाट ५ लाख ७३ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । रकम लिएपछि उनीहरू दुबै जना सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले शन्त कुमारलाई आइतबार काठमाडौं महानगरपालिका ११ बाट र विष्णुराजलाई शुक्रबार सोही स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।




