बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट प्रहरीले करिब ११ किलो अवैध लागूऔषध गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका ९ की ३८ वर्षीया भुमाया तामाङ र ४५ वर्षीया सन्तमाया तामाङ रहेका छन् ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले मंगलबार साँझ नारायणघाटबाट कलैयातर्फ जाँदै गरेको ना ५ ख ३६७८ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई गाँजासहित फेला पारेको हो ।
बसमा सवार दुबै जनाले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा करिब ११ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका दुवै महिलामाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




