बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट बिहीबार बिहान प्रहरीले ठूलो मात्रामा नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, बिहार राज्यको भैसाली ग्राम हुसेनाराके १२ निवासी २७ वर्षीय धिरज कुमार सिंह र मोतिहारी जिल्लाको कटगेनवा २ निवासी १८ वर्षीय किशोर रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ बियु ३४८५ नम्बरको कार चेकजाँच गर्ने क्रममा प्रहरीले कारको पछाडिको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाई राखिएको १६ हजार ५ सय थान ट्रामाडोल ट्याब्लेट फेला पारेको थियो । साथै, उनीहरूबाट तीन थान मोबाइल फोन पनि बरामद गरिएको छ ।
हाल पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागूऔषध तस्करीविरुद्ध प्रहरीले निगरानी र कारवाही तीव्र बनाएको जनाएको छ ।




