रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका ५ स्थित झाझ खोलाको झोलुंगे पुल छेउको झाडीमा बिहीबार अपरान्ह एक नवविवाहिता महिलाको शव फेला परेको छ । श्रृंगार गरिएको अवस्थामा शव भेटिएकोले प्रहरी हत्या भएको हुन सक्ने आशंका गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार, करिब २०/२५ वर्ष उमेरकी महिलाको शव घोप्टो अवस्थामा झाडीमा फेला परेको हो ।
मृतक महिलाले फिक्का हरियो रंगको सेतो बुट्टा भएको कुर्ती र सुरुवाल, दुबै खुट्टामा चाँदी जस्तो देखिने पाउजु, नाकमा सुनको नथिया, हातमा मेहन्दी, खुट्टाको औलामा निलो नङ पालिस, हल्का बैजनी रङको लेडिज स्यान्डल लगाएकी थिइन् । बाँया हातको नाडीमा रातो धागो बाँधिएको थियो ।
शरीरिक बनावट पातलो, उचाइ करिब ५ फिट २ इञ्च, वर्ण गहुँगोरो रहेको मृतकको पहिचान हालसम्म खुलेको छैन । अनुहार चिन्न नसकिने अवस्थामा रहेकाले शव पहिचान गर्न चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव प्रादेशिक अस्पताल गौरको शवगृहमा पोष्टमार्टमका लागि राखिएको छ ।
प्रवक्ता रायका अनुसार, प्रारम्भिक अवस्था हेर्दा शव एक-दुई दिनअघि हत्या गरी फालिएको हुनसक्ने आशंका गरिएको छ । विस्तृत जानकारी पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र पुष्टि हुने जनाइएको छ ।
मृतक महिलाको पहिचानमा सहयोग गर्न प्रहरी कार्यालयले सार्वजनिक अनुरोध समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको मोबाइल नम्बर ९८५५०४०९९९, ९८५५०९०३७४ वा प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गरेर जानकारी दिन अनुरोध गरिएको छ ।
दाइजो तथा घरेलु हिंसाको सन्देह
प्रहरीले घटनालाई अत्यन्त शंकास्पद मानेको छ । नवविवाहिता महिलाको रूपमा श्रृंगार र गहना लगाएको अवस्थामै शव फेला पर्नु आफैंमा गम्भीर रहस्य बोकेको संकेत हो । पछिल्लो समय तराई–मधेसमा दाइजो, पारिवारिक हिंसा र विवाहपछिको तनावका कारण महिलाको हत्या हुने घटनामा वृद्धि भएको भन्दै प्रहरी अनुसन्धानलाई सोही दिशामा केन्द्रित गरिरहेको छ ।




