जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जिरोमाईल चोकमा आइतबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा म प्र ०२–००७ प ०६७३ नम्बरको मोटरसाइकल चलाइरहेका महोत्तरी जलेश्वर नगरपालिका ११ निवासी ४० वर्षीय हेमराज पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको ज्यान गएको हो । दुर्घटनामा संलग्न अर्को मोटरसाइकल बिआर ३० एजि ८४९७ नम्बर रहेको छ ।
सो मोटरसाइकलमा सवार चालकसहित दुई जना घाइते भएका छन् र उनीहरूको जनकपुरस्थित स्वस्तिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जनाइएको छ ।




