सर्लाही । सर्लाहीको बागमती नगरपालिका ८ स्थित सोल्टीमा मंगलबार साँझ ट्रयाक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ । बरहथवाबाट सोल्टीतर्फ गइरहेको ना २ त २८७ नम्बरको ट्रयाक्टरले साँझ करिब ६:४५ बजे स्थानीय सागर बिष्टकी छोरी प्रनिषा बिष्टलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्कालै उपचारका लागि बागमतीकै दयन्ति अस्पताल पुर्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा राति करिब ८:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरे ।
दुर्घटनास्थल सोल्टी बजार क्षेत्रबाट करिब ३ किलोमिटर पश्चिमदक्षिणतर्फ पर्छ । दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक १८ वर्षीय मन्जित रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सोही क्षेत्रका स्थानीय हुन् । प्रनिषाको शव हाल वीरगञ्जस्थित बयोधा अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




