रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको सोकोन विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा सर्लाही रामनगर १ खैरवाका ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
घाइते भएका अन्य दुई जनाको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।




