पर्सा । पर्सा जिल्लामा मंगलबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पकाहा मैनपुर गाउँपालिका ३ स्थित सडकमा धोरेबाट खेस्राहातर्फ जाँदै गरेको बीआर २२ एवाई २९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक छिपहरमाई गाउँपालिका २ चर्गाहा निवासी ३० वर्षीय शत्रुधन मुखियाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो जहाँ उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, वीरगंज महानगरपालिका १४ ठूलो पिपरास्थित सडकमा एचआर ५८ ई ५८९३ नम्बरको ट्रकले ना ४४ प ९८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय सहिद अंसारीको मृत्यु भएको छ ।
गम्भीर घाइते अंसारीको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार एक जना अन्य व्यक्ति घाइते भएका छन् । उनको वीरगंज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान जारी रहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




