रौतहट । रौतहट जिल्लामा पछिल्लो समय नवविवाहिताहरूको हत्या श्रृंखलाबद्ध रूपमा बढ्दै गएको छ । मात्र एक महिनाको अवधिमा तीन नवविवाहिताको शंकास्पद मृत्यु भएपछि जिल्लामा त्रासको माहोल छाएको छ ।
ताजा घटना कटहरिया नगरपालिका १ भसेढवा गाउँको हो । मंगलबार राति ८ बजे अनकेश यादवको श्रीमती २२ वर्षीया अल्का यादव आफ्नै घरको सुत्ने कोठाको खाटमा मृत अवस्थामा फेला परेकी थिइन् ।
शव उतानो परेको र मृतकले वान्ता गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको इलाका प्रहरी कार्यालय कटहरियाका डिएसपी राजन कार्कीले बताए ।
घटनाको जानकारी पाएलगत्तै कटहरिया र गरुडाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तर त्यस बेलासम्म मृतककी सासु ४६ वर्षीया शान्ति देवी र श्रीमान अनकेश यादव फरार भइसकेका थिए ।
प्रहरीले मृतककी ससुरा ५१ वर्षीय रामपुकार प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । मृतकको माइती पक्षले अल्काको कुटपिटपछि घाँटी थिचेर हत्या गरिएको दाबी गरेका छन् । उनीहरूका अनुसार घटनालाई आत्महत्या देखाउन प्रयास गरिएको हो ।
डिएसपी कार्कीले घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । पोस्टमार्टम रिपोर्टपछि घटना बारे थप स्पष्ट हुन सक्ने र फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि कटहरिया ३ बडेरवा घर भई हाल कटहरिया बजारमा बस्दै आएका अहमद राय भाटका छोरा २५ वर्षीय अरमान राय भाटमाथि श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो । उनी हालसम्म फरार छन् ।
यस्तै, जेठ १६ गते दुर्गा भगवती गाउँपालिका नजिकैको खोला किनारको झाडीमा अनेक गहना लगाएर सजिएकी २४ वर्षीया नवविवाहिताको शव फेला परेको थियो । शवको पहिचान अझै खुलेको छैन भने जिल्ला प्रहरी कार्यालय रौतहटले उक्त घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।
सामाजिक र पारिवारिक दबाब, दाईजोका कारण हुने दुर्व्यवहार तथा घरेलु हिंसाका घटनाहरू मधेस प्रदेशमा व्यापक छन् । यस्ता घटनामा राजनीतिक संरक्षण र आर्थिक चलखेलको कारण अपराधीहरू सजिलै उम्किने गरेकाले अपराध दर बढि रहेको स्थानीयबासीले गुनासो गरेका छन् ।




