बारा । बारा जिल्लाको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । सिम्रौनगढ नगरपालिका ११ भगवानपुरस्थित सडकमा ना ५ ख ७९११ नम्बरको पिकअपबाट खसेर सोही ठाउँका १८ वर्षीय अखिलेश बैठा धोबीको ज्यान गएको छ ।
गएराति भएको दुर्घटनामा गम्भीर घाइते भएका अखिलेशको कलैयास्थित ए-प्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना लगत्तै पिकअप चालक फरार भएका छन् भने हाल प्रहरीले पिकअप र चालकको खोजी कार्य जारी राखेको जनाएको छ ।
त्यस्तै, आदर्शकोतवाल गाउँपालिका ३ भटिनियास्थित सडकमा बिहीबार राति बिआर ०६ बीटी ७०७२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार भटिनियाका २५ वर्षीय सुजित कुमार यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएका यादवको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा कारमा सवार अन्य ५ जना घाइते भएका छन् । तीमध्ये ४ जनाको सोही अस्पतालमा र १ जनाको वीरगञ्जस्थित सर्वोत्तम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, फेटा गाउँपालिका १ रजबटियास्थित खोलामा बनाइएको बाँसको लच्का पार गर्ने क्रममा बा २१ प ६०९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा २३ वर्षीय अमरनाथ यादवको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका यादवको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन छुट्टाछुट्टै दुर्घटनाबाट मृत्यु भएका व्यक्तिहरूप्रति प्रहरी र स्थानीयवासीले शोक व्यक्त गरेका छन् । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ ।




