सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ४ सासापुरस्थित सडकमा सवारी साधनको ठक्करबाट एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्र २–०३–००२ प ५५२२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११ का ३० वर्षीय राजेश केसी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि हरिवनस्थित नमुना अस्पताल पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् । उनको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हाल ठक्कर दिने सवारी साधन र चालक फरार रहेका छन् । घटनापछि प्रहरी फरार सवारी साधन र चालकको खोजी कार्यमा जुटेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




