रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका ४ मा कृषकलाई वितरण गरिने स्प्रे टंकी खरिद प्रक्रियामा ठगी र कागजात किर्ते गरिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा कृषकहरूका लागि स्प्रे टंकी खरिद गर्न बोलपत्र आह्वान गरिएको भनिए पनि सम्बन्धित सूचना जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा कहिल्यै प्रकाशित नभएको प्रमाण भेटिएको छ । तर, नगरपालिकाको अभिलेखमा भने झुटा पत्रिका र नक्कली बिल संलग्न गरी सूचना प्रकाशन भएको देखाइएको थियो ।
अनुसन्धानका क्रममा मिति २०७८ माघ १८ गते जनसवाल राष्ट्रिय दैनिक र फागुन २७ गते तराई पोष्टमा बोलपत्र आह्वान तथा स्वीकृतिको सूचना छापिएको भनी कागजात पेस गरिएको थियो । तर प्रेस काउन्सिल नेपालबाट प्राप्त जानकारी अनुसार ती सूचनाहरू दुवै पत्रिकामा कहिल्यै प्रकाशित भएका थिएनन् ।
अख्तियारका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, सह–लेखापाल नविन कुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओम प्रकाश यादव लगायतले मिलेमतोमा सूचना नछापी झुटा कागजात तयार पारी कार्यालय अभिलेखमा राखेका थिए ।
उनीहरूले झुटा पत्रिका र बिल पेश गरी जनसवाल राष्ट्रिय दैनिकलाई रु. १,७२,८२५ र तराई पोष्टलाई रु. ३९,४०० गरी कुल रु. २,१२,२२५ गैरकानूनी रूपमा भुक्तानी दिएका थिए । त्यस्तै, भुक्तानीका लागि काटिएको चेकमा उल्लेख भएको विवरणसमेत केरमेट गरी सच्याइएको तथा सरकारी कागजातमा हस्तक्षेप गरिएको पाइएको अख्तियारको भनाइ छ ।
उक्त कार्यबाट फतुवा विजयपुर नगरपालिकालाई आर्थिक हानी पुर्याई आफूहरूलाई गैरकानूनी लाभ लिएको पुष्टि भएपछि उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो ।




