जनकपुरधाम । लगातार बढिरहेको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णद्वारा मङ्गलबार जारी सूचनामा आगामी जेठ २९ र ३० गते विद्यालयहरूमा पठनपाठन स्थगित गरिने उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले सावधानी स्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।’
यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ । साथै, यो बन्द वार्षिक विदाबाट कट्टा गरिने जनाइएको छ । अहिले जनकपुरधाम लगायत मधेस प्रदेशका विभिन्न जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ ।
गर्मीका कारण बालबालिकालाई विद्यालय जान कठिन हुन थालेपछि स्थानीय तहले सावधानी अपनाउँदै विद्यालय बन्द गर्न थालेका छन् ।




