सिराहा । सिराहाको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ र दिउँसो गरी दुई छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन् । बुधबार साँझ गोलबजार नगरपालिका ४ स्थित क्याम्पस चोकबाट खैरो हेरोइन जस्तो देखिने ४५० मिलिग्राम लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्नमा गाउँपालिका ३ घर भई गोलबजारमै बसोबास गर्दै आएका २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका ८ कसहा घर भएका २२ वर्षीय सन्तोष कुमार महतो र औरही गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूको डेरामा तलासी गर्दा उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो ।
यस्तै, गोलबजार नगरपालिका ५ बाट खैरो हेरोइन जस्तो देखिने १ ग्राम ३०० मिलिग्राम पदार्थसहित २२ वर्षीय दिपेन कुमार साहसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउपछि अनुसन्धान गर्दा सोही ठाउँका २४ वर्षीय विमल कुमार महतोले लागूऔषध उपलब्ध गराएको खुल्न आएपछि प्रहरीले विमलको घर तलासी गर्दा थप २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी उनलाई समेत पक्राउ गरेको हो । पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




