सिरहा । सिरहाको गोलबजार क्षेत्रमा लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय गोलबजारले पछिल्ला तीन दिनमा फरक फरक स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये पाँच जना युवा र एक नाबालक रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन, गाँजा सेवनमा प्रयोग हुने उपकरण, धारिलो हतियार तथा वाटर गञ्ज समेत फेला परेको छ ।
पहिलो घटनामा, गोलबजार नगरपालिका ४ स्थित क्याम्पस चोक नजिक शंकास्पद रूपमा हिँडिरहेका अर्नमा गाउँपालिका ३ निवासी २० वर्षीय राकेश कुमार महतोको शरीर खानतलासी गर्दा दुई वटा प्लास्टिक पोकामा राखिएको ४४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको थियो ।
त्यसपछि, सोही स्थानको एक घरमा प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा अर्नमा गाउँपालिका ३ का अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका ८ का सन्तोष कुमार महतो (२२) र औरही गाउँपालिका १ का प्रदीप कुमार यादव (१८) पक्राउ परेका छन् । उनीहरूको डेराबाट ९०.९७ मिलिग्राम खैरो हिरोइन, धारिलो चक्कु तथा वाटर गञ्ज बरामद भएको प्रहरीको भनाइ छ ।
तेस्रो घटनामा, गोलबजार ५ स्थित डम्बर बहादुर मगरको खेतमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले २२ वर्षीय दिपेन कुमार साह र एक नाबालकलाई पक्राउ गरेको हो । दिपेनको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दिपेनले लागुऔषध बिमल कुमार महतोबाट बिक्रीका लागि लिएको स्वीकार गरेपछि बिमलको घरमा खानतलासी गरिएको थियो । घरको जुत्ता–चप्पल राख्ने दराजमा लुकाइएका तीन पोका (४०० मिलिग्राम) लागुऔषध समेत फेला पारिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषध नियन्त्रणमा सशक्त गस्ती, निगरानी र छापा अभियानलाई अझ तीव्र बनाएको जनाएको छ । पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण सम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता बिरेन्द्र कुमार पासवानका अनुसार सबै घटना बारे थप अनुसन्धान भइरहेको छ ।




