सिरहा । सिरहाको विभिन्न क्षेत्रहरूमा ऐलानी र सामुदायिक वन क्षेत्रबाट अवैध रूपमा ग्राभेल उत्खनन हुने क्रम रोकिएको छैन । यो कार्य वन कर्मचारी, स्थानीय प्रशासन र ग्राभेल माफियाबीचको मिलेमतोमा भइरहेको खुलासा भएको छ ।
विशेष गरी गोलबजार नगरपालिका २ स्थित मुक्सार क्षेत्रमा रातको समयमा जेसीभी र डम्पर प्रयोग गरी सामुदायिक वन तथा ऐलानी जमिनबाट ग्राभेल उत्खनन भइरहेको छ ।
गएराति उक्त क्षेत्रमा एक थान जेसीभी र स १ त ८३६ नम्बरको डम्परलाई अवैध उत्खननका क्रममा नियन्त्रणमा लिए पनि त्यसको अनुसन्धान नगरीकन छोडिएको खुलेको छ ।
कार्यालय प्रमुखमाथि मिलेमतोको आरोप
सव डिभिजन वन कार्यालय, चोहर्वाका प्रमुख आवेद हुसेनले नियन्त्रणमा लिइएका सवारीसाधनलाई मोटो रकम लिएर छोडेको आरोप लागेको छ ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, उक्त गाडीहरू विजय साह नामक ठेकेदारका हुन्, जसले विगत सात वर्षदेखि ऐलानी तथा सामुदायिक वन जमिनबाट अनधिकृत रूपमा उत्खनन गर्दै आएका छन् ।
कार्यालय प्रमुख हुसेनले भने, ‘स्थानीयको उजुरीपछि जेसीभी र ट्रिफर नियन्त्रणमा लिइएको हो । तर एक जनाले त्यस ठाउँलाई निजि जग्गा दाबी गरेकाले जरिवाना काटेर गाडीहरू छोडियो ।’
तर डिभिजन वन कार्यालयबाट आएका एक कर्मचारीले भने, ‘खेत सम्याउन डम्परको आवश्यकता हुँदैन । यो स्पष्ट रूपमा मिलेमतोमा गरिएको कार्य हो । मोटो रकम लिएर ऐलानी जमिनलाई निजि घोषित गराइएको हो ।’
स्थानीय त्रसित, प्रहरी बेखबर
स्थानीय बासिन्दा शिव थापा र रामप्रकाश यादवले बारम्बार प्रहरी र वन कार्यालयमा खबर गर्दा पनि रातको समयमा अनियन्त्रित रूपमा ग्राभेल र वालुवा चोरी भइरहेको गुनासो गरेका छन् । उनीहरू भन्छन्, ‘नियामक निकाय स्वयं विक्रीमा लागेपछि माफियाहरूको एकछत्र शासन चलेको छ ।’
सप्ताहौंयता चलिरहेको व्यापक उत्खननका कारण स्थानीय पर्यावरणमा गम्भीर क्षति पुगेको छ भने चुरे क्षेत्रका प्राकृतिक स्रोतहरू समेत दोहनमा परेको स्थानीयको भनाइ छ । सुरक्षा र प्रशासनिक संयन्त्रले आँखा चिम्लेकै कारण यो समस्या दिन प्रतिदिन गहिरिँदै गएको छ ।




