रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल पुन: उत्कृष्ट बन्न सफल भएको छ । मधेश प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको अनुगमन निरीक्षण तथा मूल्यांकनमा अस्पतालले ९१ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशकै उत्कृष्ट तथा देशभरिका ५० शय्याका प्रादेशिक अस्पतालमध्ये ‘टप फाइभ’मा कायम रहन सफल भएको हो ।
प्रादेशिक अस्पताल गौरले मधेश प्रदेशका ६ वटा प्रादेशिक अस्पतालहरू बीच प्रतिस्पर्धा गर्दै उत्कृष्ट स्थान हासिल गरेको मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत ११ सदस्यीय टोलीले अस्पतालमा गरिएको सूक्ष्म अनुगमन निरीक्षणपछि सोमबार साँझ आयोजित विशेष कार्यक्रममा मूल्यांकनको निष्कर्ष सार्वजनिक गरिएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीका अनुसार मूल्यांकनमा सेवा उपलब्धता, स्वास्थ्यकर्मीको व्यवहार, भौतिक पूर्वाधार, सरसफाइ, शौचालय, बिरामी शय्या, अपरेशन कक्ष, एम्बुलेन्स, क्यान्टिन तथा सुविधाहरूको अध्ययन गरी छुट्टाछुट्टै स्कोर प्रदान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले विगतमा रिफरल अस्पतालका रूपमा परिचित गौर अस्पताल हाल डा। ठाकुर र अध्यक्ष हासमीको नेतृत्वमा उल्लेखनीय सुधारका साथ मधेश प्रदेशमै नमूना अस्पताल बन्न सफल भएको उल्लेख गरे । अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको समर्पणले यो पहिचान सम्भव भएको बताइएको छ ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका नर्सिङ प्रशासक सुनिल गुप्ता, नारायणी अस्पताल वीरगञ्जका नर्सिङ प्रशासक श्रुति साह, मेडिकल अधिकृत डा. इन्द्रजीत रजक, मलंगवा अस्पतालका कन्सल्टेन्ट डा. अशोक यादव, डेन्टल सर्जन डा. सुरज गुप्ता, स्वास्थ्य निर्देशनालयका सुरेन्द्र चौधरी, कलैयाका व्यवस्थापक प्रिया झा, रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरी, सशस्त्र प्रहरीका एसपी सन्तोष कुमार बस्नेत, स्वास्थ्य कार्यालय प्रमुख राजेश कुमार सिंह, एमएमएस स्कोरिङ टिमका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
यसअघि गत फागुन ६ गते पनि गौर अस्पतालले ८९ अंक प्राप्त गरी प्रदेशमा उत्कृष्ट र देशको ‘टप १०’ अस्पतालमा आफ्नो स्थान बनाएको थियो ।




